एक पटक ज्ञान प्रचारको सिलसिलामा गौतम बुद्ध केही दिनका लागि एउटा गाउँमा पुगेका थिए । त्यस गाउँमा एक व्यापारी बस्थ्यो । उसका दुई भाइ छोराहरू पनि बुद्धको ज्ञानबाट प्रभावित भएर नियमित रूपमा उहाँको सत्सङमा आउने गर्थे । आफ्ना छोराहरूले व्यापार–व्यवसाय नगरी बुद्धको पछि लागेको देख्दा उक्त व्यापारी बुद्धप्रति अत्यन्तै क्रुद्ध बनेको थियो ।
एक दिन बुद्ध आफ्ना शिष्यहरूसँग ज्ञान बाँडिरहेका बेला त्यो व्यापारी बुद्धको नजिक आएर उहाँको मुखमा नानाथरी गाली गर्दै थुकिदिन्छ । आफ्नो मुखमा थुकिँदा पनि बुद्ध शान्त रहेर कुनै प्रतिक्रिया वा प्रतिवाद नगरेको देख्दा त्यो व्यापारी अत्यन्तै आश्चर्यचकित हुन्छ ।
ऊ सिधै घर जान्छ र आफूले बुद्धमाथि प्रहार गरेका छुद्र शब्दहरू एक–एक गरेर सम्झिन्छ । आफूले गरेको व्यवहारप्रति उसलाई यति धेरै ग्लानि हुन्छ कि ऊ रातभर निदाउन सक्दैन । आफ्नो मुखमा कसैले थुक्दा पनि कुनै प्रतिवाद वा रिसराग नदेखाउने व्यक्ति उसले आजसम्म देखेको थिएन ।
आफ्नो कर्तुतप्रति पश्चाताप गर्दै त्यो व्यक्ति भोलिपल्ट बुद्धको नजिक जान्छ र हिजो आफूले गरेको व्यवहारका लागि माफी माग्छ । जब त्यो व्यापारीले दुई हात जोडेर बिन्ती गर्दै माफी माग्न मात्र के गरेको थियो, बुद्धले बोलेका शब्द साँच्चिकै मननीय छन् ।
आफूले हिजो थुकेकोमा माफी मागिरहेको व्यक्तिलाई बुद्ध भन्नुहुन्छ,
“म तिमीलाई माफी दिन सक्दिनँ, किनकि तिमीले कुनै गल्ती नै गरेका छैनौ । हिजो जुन व्यक्तिले मेरो मुखमा थुकेर दुर्व्यवहार गर्यो, त्यो व्यक्ति त हिजो नै बितिसक्यो । तिमीभित्रको त्यो व्यक्ति मरिसकेको छ । आज तिमी फरक व्यक्ति बनेर मेरो सामु उभिएका छौ । त्यसैले हिजोको खराब व्यक्तिका लागि आजको असल व्यक्तिले माफी माग्न आवश्यक छैन । यदि तिमी हिजोकै व्यवहार गर्दै आएको भए मात्र तिमी हिजोकै व्यक्ति हुन्थ्यौ । तर हिजोको व्यवहारप्रति पश्चाताप गरिरहेका छौ भने तिमी हिजोको व्यक्ति होइनौ, तिमी फरक व्यक्ति हौ ।”
बुद्धका वचन सुनेर व्यापारीले लामो सास फेर्छ र बुद्धको पाउमा पर्छ ।
यस कथामा बुद्धले माफीको उच्चतम प्रयोग गर्नुभएको छ । हामी प्रायः कसैलाई पहिलो चरणमै माफी दिँदैनौँ । यदि माफी दिनुपर्यो भने पनि उसलाई गल्तीबोध गराएर, पश्चाताप गराएर मात्र माफ गर्न तयार हुन्छौँ । तर यहाँ बुद्धले गल्ती गर्ने व्यक्तिलाई गल्तीबोध गराउनसमेत नपारी माफी दिनुभएको छ । यो माफीको उच्चतम तह हो ।
उहाँले व्यापारीलाई भन्नुभयो— “जुन व्यक्तिले हिजो दुर्व्यवहार गर्यो, त्यो व्यक्ति त हिजै मरेको हो । आज तिमी मेरो सामु फरक व्यक्ति भएर आएका छौ ।” अर्थात् जब मानिसले आफ्नो स्वभाव र कर्म बदल्छ, ऊ पुरानो व्यक्ति रहँदैन । उसले आफैँभित्र नयाँ व्यक्तिको जन्म दिन्छ ।
हामीलाई कसैले नराम्रो व्यवहार गरेर माफी मागे पनि प्रायः हामी माफ गर्न तयार हुँदैनौँ । माफी दिन सक्ने व्यक्ति केवल महान् व्यक्ति मात्र हुन्छ । हरेक ठाउँमा बदला लिन खोज्ने भनेका कमजोर र साँघुरो चित्त भएका व्यक्तिहरू मात्र हुन् ।
माफी दिन सक्ने व्यक्ति केवल महान् व्यक्ति मात्र हुन्छ ।
0
February 08, 2026
Tags
