यदि मैले ती पाइलाहरू नमेटाएको भए, तिमी उसको शिकार भइसकेको हुन्थ्यौ।"

 समुद्र किनारमा एउटा सानो गगटो हिँडिरहेको थियो। उसको सानो खुट्टाले बालुवामा पाइला कोर्दा लामो रेखा बनेको थियो। गगटोले त्यो रेखा हेर्दा गर्व महसुस गर्‍यो—"वा! मैले पहिलो पटक यति लामो पाइला बनाएको छु।" उसले पटक–पटक पछाडि फर्केर आफ्नै पाइलाको रेखा हेरेर दङ्ग पर्यो। तर, अचानक समुद्रको ठूलो छाल आयो र उसले बनाएको सारा रेखा एकैपटक मेटाइदियो। गगटो निराश भयो। उसले समुद्रसँग गुनासो गर्‍यो, "मैले तिमीलाई मनदेखि सम्मान गरेको थिएँ। तर तिमीले मेरो खुशी मेटायौ। तिमीलाई मेरो मेहनत र पाइलाको रेखा मन परेन जस्तो छ।" समुद्र मुस्कुरायो र शान्त स्वरमा भन्यो, "तिमीले मलाई गलत बुझ्यौ गगटा। मैले तिम्रो खुशी बिगार्न होइन, तिम्रो जीवन बचाउन तिम्रा पाइलाहरू मेटाइदिएको हो। मैले देखेको थिएँ—एक शिकारी तिम्रो पाइलाको रेखा पछ्याउँदै तिमिलाई मार्न आएको थियो। यदि मैले ती पाइलाहरू नमेटाएको भए, तिमी उसको शिकार भइसकेको हुन्थ्यौ।"











त्यो क्षणमा गगटो अचम्ममा पर्यो। उसले बुझ्यो—समुद्रले उसलाई दुःख दिन होइन, उसको रक्षा गर्न पाइला मेटाएको रहेछ। यस कथामा एउटा गहिरो सन्देश छ। हाम्रो जीवनमा पनि प्रायः यस्तो हुन्छ—कसैले हाम्रो आलोचना गर्‍यो भने हामी तुरुन्तै सोच्छौं, "यसले मेरो दुश्मनी गर्‍यो। यसले मेरो कुभलो चितायो । " तर वास्तविकता सधैं त्यस्तो हुँदैन। कसैले तपाईंलाई रोक्यो भने सायद त्यो रोकावटले तपाईंलाई ठूलो समस्याबाट बचाइरहेको हुन्छ। कसैले तपाईंलाई आलोचना गर्‍यो भने सायद त्यो आलोचनाले तपाईंलाई अझ सक्षम बनाउन खोजिरहेको हुन्छ। आजको समाजमा धेरै सम्बन्ध गलत बुझाइका कारण टुट्छन्। साँचो कुरा बुझ्न नसक्दा हामी महत्वपूर्ण मान्छेहरूलाई जीवनबाट टाढा पठाउँछौं। त्यसैले—निर्णय गर्नु अघि बुझ्ने प्रयास गरौं। रोकावटलाई कहिलेकाहीँ सुरक्षा कवच जस्तै मानौं र आलोचनालाई सुधारको अवसरका रूपमा लिन सिकौं। सबै कुरा बाहिर देखिँदाजस्तो हुँदैन। कसैले तपाईंको "पाइला" मेटायो भने शायद त्यो तपाईंलाई भैपरि आउने खतराबाट सुरक्षा गरेको पनि हुन सक्छ। ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad