महात्मा गान्धी जुन गाउँमा बस्थे त्यो गाउँमा उनलाई बापू जी भनेर चिनिन्थ्यो । जब कसैलाई समस्या पर्थ्यो गाउँलेहरू आफ्नो समस्या लिएर बापू जी कहाँ जाने गर्थे, बदलामा बापू जीले आफूले सकेको समाधान दिएर पठाउने गर्थे । यसै सिलसिलामा उक्त गाउँमा यौटी एकल महिला पनि बस्ने गर्थिन, उनकी एक सात बर्षकी छोरी पनि थिइन । छोरी राम्री थिइन तर उनको एउटा बानी भने अली खराब थियो, उनी एकदमै धेरै चिनी खाने गर्थिन । आमाले मेलापात गएर कमाएर ल्याएको पैसाले चिनी किनेर ल्याउथिन तर छोरी भने जहाँ लुकाएर राखेको भए पनि चिनी निकालेर खाइदिन्थिन । चिनी खाए त ठिकै थियो तर धेरै चिनीले स्वास्थ्य बिगार गर्ला भन्ने ती आमालाई चिन्ता लाग्ने गर्थ्यो । धेरै सम्झाउदा पनि छोरीले नमाने पछी एक दिन ती महिलाले आफ्नी छोरीलाई लगेर बापू जीको आश्रम जाने बिचार गर्छिन । मेलापात र घरको सबै काम थाती राखेर जब ती महिला आफ्नी छोरी सहित गान्धीको आश्रम जान्छिन त बापू जी पिढीँमा बसेर चर्खामा मस्त धागो कातिरहेका छन उता आफ्नो समस्या लिएर आएका गाउँलेहरू भने लामो लाइनमा आफ्नो पालो कुरेर बसिरहेका छन । ती महिला पनि आफ्नो पालो पर्खेर लाइनको पछाडि बस्छिन । झन्डै तीन घण्टा कुरेपछी उनको पालो आउँछ अनी उनले आफ्नी छोरीलाई देखाउदै भन्छिन-" बापू जी, बापू जी, मेरी छोरी सबै कुरामा ठीक छे तर यसको एउटै बानी साह्रै खराब छ त्यो हो कि यसले साह्रै धेरै चिनी खाने गर्छे , कृपया यसलाई हजुरले एकै शब्द चिनी नखाऊ भनेर सम्झाइ दिनु पर्यो ।" महिलाको यस्तो कुरा सुने पछी बापू जी गम्भीर हुँदै बच्चीको अनुहारमा हेर्छन अनि महिलाको अनुहारमा हेर्छन र भन्छन-"बैनी तिम्रो छोरीलाई लगेर जाऊ,एक हप्ता पछी लिएर आऊ।" महिलालाई अनौठो लाग्छ "यती कुरा भन्न पनि एक हप्ता कुराउँदा रैछन", उनी चुपचाप घर तिर फर्किन्छिन । अर्को हप्ता पनि सबै काम थाती राखेर उनी आश्रम जान्छिन आज पनि अघिल्लो चोटि जस्तै त्यत्तिकै लामो लाइन , बापू जी पनि त्यसै गरी चर्खामा धागो कातिरहेका । झन्डै ३ घण्टा कुरेपछी उनको पालो आउँछ , अनि भन्छिन-"बापू जी, बापू जी, मेरी छोरी साह्रै धेरै चिनी खान्छे एक पटक चिनी नखाऊ भएर सम्झाइदिनु पर्यो ।" यो पटक पनि बापू जी गम्भीर हुँदै बच्चीको अनुहारमा हेर्छन अनि महिलाको अनुहारमा हेर्छन र भन्छन-"बैनी, तिम्रो छोरीलाई लगेर जाऊ,एक हप्ता पछी लिएर आऊ ।"
यो पाली भने महिलालाई झनक्क रिस उठ्छ उनले मन मनै भन्छिन-"यत्ती कुरा भनिदिन पनि कत्ती भाऊ खोजेको हौ यी बुढाले ।" उनी बच्ची बोकेर घर फर्किन्छिन । तेस्रो हप्ता पनि सबै काम थाती राखेर उनी बापू जीको आश्रमतिर लाग्छिन, आज बूढोले भनिदिएनन भने मैले जानेको छु यस्तै यस्तै सोच्दै उनी अगाडि बढ्छिन । आज भने उनी अलि सबेरै आश्रम पुगेकोले उनको पालो पनि छिट्टै आउँछ । जब बापूजी ले बच्चीलाई देख्छन तब उनलाई काखमा लिँदै भन्छन-" नानु नानु अब तिमीले चिनी नखाने ल ।" बच्चीले पनि-" हुन्छ बापू जी हुन्छ" भन्दै टाउको हल्लाउँछिन । त्यो गाउँमा कस्तो रहेछ भने बापू जी भने पछी बूढादेखी बच्चा सम्मले सबैले मान्दा रहेछन । यसरी बच्चीलाई सम्झाइदिए पछी काम त सकियो अनि ती महिलाले-" धन्यवाद बापू "जी भनेर बच्ची बोकेर घर फर्किदै हुन्छिन । जब उनी घर आउन बीच बाटोमा के पुगेकी थिइन तब उनलाई लाग्छ कि भन्ने कुरा फरक त होइन रैछ नि यत्ती चिनी नखाऊ नानी भनिदिनको लागि यी बापुले किन तीन तीन चोटि दु:ख दिएका होलान, गएर सोधेर आउनु पर्यो । उनी बीच बाटोबाटै फनक्क फर्केर बापू जीको आश्रममा जान्छिन र सोध्छिन-" बापू जी बापू जी तपाईंले मेरी छोरीलाई भन्ने कुरा त फरक रैनछ नि , यत्ती चिनी नखाऊ नानु भनेर मात्र सम्झाउनको लागि तपाईंले मलाई किन तीन तीन चोटि दु:ख दिनुभएको ? तपाईंलाई थाहा छैन एक दिन मात्र मेलामा गएन भने मेरो घरमा हात मुख जोर्न गाह्रो हुन्छ ।
महिलाको यस्तो कुरा सुने पछी बापू जी ले जवाफ दिन्छन-" बहिनी जुन बेला तिमीले पहिलो चोटि आफ्नो छोरीलाई लिएर मकहाँ चिनी नखाऊ भनिदिन आएकी थियौ त्यो बेला म स्वयम चिनी खान्थेँ । आफूले चिनी खाँदाखाँदै अरुलाई चिनी नखाऊ भन्न मेरो नैतिकताले दिँदैनथ्यो यसर्थ मैले तिम्रो छोरीलाई चिनी नखाऊ भन्न सकिन । जुन दिन तिमीले आफ्नो छोरीलाई दोस्रो चोटि लिएर आएकी थियौ त्यो बेला मैले चिनी खान त छोडेको थिएँ तैपनी मेरो मन भित्र कता हो कता चिनी खाने तलतल चाँही बाँकी थियो । आफ्नो मनमा चिनी खाऊ खाऊ लाग्दा लाग्दै अरुलाई चिनी नखाऊ भन्न मेरो नैतिकताले दिँदैनथ्यो यसर्थ मैले चिनी नखाऊ भनिन । तर आज जब तिमीले आफ्नो छोरीलाई ल्याएर आयौ अहिले मैले चिनी खान छोडेको मात्र होइन मेरो मन भित्र कतै पनि चिनी खाऊँ खाउँ लाग्ने तलतल सम्म बाँकी छैन र यो मात्र उपयुक्त अबसर हो जुन बेला मैले अरुलाई चिनी नखाऊ भनेर अर्ती दिन सक्छु ।
मित्रहरू बिचार गर्नुस् त गान्धीसँग न धेरै धन थियो , न जन्मजात उनी राजनीतिक घरानामा जन्मिएका थिए नत उनिसँग हात हतियार नै थिए तैपनी किन उनलाई त्यती धेरै भारतीयहरूले अङ्रेज बिरुद्धको लडाईंमा साथ दिए त , किन ती करोडौ ब्यक्तिहरू उनको आदेशमा मर्न तयार भए त , एउटै कारण गान्धी अरुलाई त्यही गर्न भन्थे जो आफू गर्थे । उनी आफू एक थोक भन्ने गर्न चाँही अर्को थोक गर्ने कहिलै गर्दैनथे ।
