एक दिन एक किसान हैरान हुँदै इश्वरसँग प्रर्थना गर्छ । किसानले भन्छ-"हे प्रभो, म यति दु:ख गरेर बालिनाली लगाउँछु तर तपाईं ...तर तपाईं कहिले झरी बर्षाइदिनुहुन्छ मेरो बालीनाली माथि,कहिले आँधी हुरी चलाइदिनुहुन्छ, कहिले प्रचण्ड खडेरी पारी सबै बाली डढाइ दिनुहुन्छ । लाग्छ कि तपाईंलाई किसानहरूको मर्का बुझ्न नै आउँदैन यात तपाईंलाई बालिनाली कसरी उब्जाउने भन्ने ज्ञान नै छैन । बरु यसो गर्नुस् न मलाई एक वर्षका लागि मौसम परिवर्तन गर्ने जिम्मा दिनुस् ताकी म चाहे अनुसारको हावापानी मेरो बालीलाई दिन सकूँ । अनि म देखाउने छु कि मैले कसरी अन्नको भण्डार भर्नेछु भनेर ।" किसानको यस्तो कुरा सुने पछी इश्वर स्वयम प्रकट भएर भन्छन -"हुन्छ नि त एक वर्षसम्मका लागि तिमी आफ्नो बालिनालीलाई जस्तो चाहिन्छ त्यस्तै मौसम प्रयोग गर म तिमीलाई कुनै दखल दिने छैन ।" यसरी इश्वरले किसानको प्रस्ताबमा सहमति जनाउँछन । किसानले यस पटक आफ्नो खेतमा धान रोपेको थियो । उसले अब आफूले चाहे अनुसारको हावापानी आफ्नो खेतमा लगाएको बालीमा दिन थाल्यो । जब उसले घाम चाहन्थ्यो घाम दिन्थ्यो जब पानी चाहन्थ्यो पानी दिन्थ्यो तर चर्को घाम,तेज हावा, झरी,असिना, चट्याङ आदी त उसले आउनै दिएन, देओस पनि किन र किनकी तेज हावा, झरी असिनाले त उसको बालीलाई नोक्सान पुर्याउछ भन्ने उसलाई प्रष्ट थाहा थियो । समयक्रमसँगै धान बाली हुर्किदै गयो, हुर्किदै गयो । यो साल धान यसरी हुर्कियो यसरी सप्रियो कि यती धेरै बाली बढेको त किसानले आजसम्म पनि आँखाले देखेको थिएन । उसले मनमनै भन्दै थियो -"बल्ल देख्ने भए प्रभुले कसरी बालिनाली हुर्काउनु पर्छ भनेर, सबक त राम्रै सिकाउने भएँ मैले इश्वरलाई । ।"
यस्तैमा धान बाली काट्ने दिन पनि आयो । जब ऊ खेताला लगेर धान काट्न खेतमा गयो धानका बोटमा त सबै गेडाहरू रित्ता छन । कुनैमा बालामा पनि भित्रबाट फल लागेको छैन । छ त केवल बाहिरी पराल मात्र सप्रेको छ । यस्तो देखे पछी किसानले छाती पिट्दै पिट्दै फेरि परमात्मालाई गुहार्छ र भन्छ -"प्रभु यो के भयो ? धानमा त एउटै दाना पनि लागेको छैन सबै बोट रित्ता रित्ता मात्र छन । त्यती राम्रो हावापानी दिएर पनि यस्तो किन प्रभु ? यस्तो किन?" तब परमात्माले मुस्कुराउदै भन्छन-" प्रिय किसान यो त हुनु नै थियो, तिमीले आफ्नो बालीलाई अलिकती पनि सङ्घर्ष गर्ने अवसर नै दिएनौ । नत तिमीले चर्को घामको सामना गर्न दियौ, नत तेज हावालाई छेक्ने गरी मजबूत हुन दियौ । कुनै पनि बाधा अड्चनसँग संघर्ष गर्न नदिएको हुनाले तिम्रो बाली भित्रबाट खोक्रो रित्तो हुन गयो । जब हावा हुरी झरी असिना आउँछ तब न बालीले आफ्नो जरामा बलियो गरी उभिन सिक्छ । यही सङ्घर्षले नै उसलाई भित्रबाट भरिलो बनाउंछ । जब आँधी आउँछ, टन्टलापुर घाम लाग्छ, भिषण वर्षा हुन्छ, असिना पर्छ तब मात्र रुख बिरुवा र बालिनालिहरूले आफ्नै बलमा उभिन संघर्ष गर्छन ।
आफ्नो अस्तित्व जोगाउन गरिएको यो संघर्षबाट बल प्राप्त हुन्छ र त्यही बलवाट प्राप्त शक्ति र उर्जाले उनीहरुमा फलको बिकास हुन्छ । जुन तिमीले यो साल हुनै दिएनौ । झट्ट हेर्दा आकाशमा चट्याङ पर्नु नराम्रो होला भन्ने लाग्छ तर त्यै चट्याङबाट बिरुवालाई चाहिने उर्वर तत्व निर्माण पनि भएको हुन्छ । " कथाको मूल मर्म यो हो कि जसरी झरी,असिना र प्रचण्ड गर्मीले बालीनालीलाई मजबूत बनाउछन र त्यसको दाना भित्र उर्जा भर्छन त्यसरी नै परिश्रम र संघर्षले मात्र मानिसलाई गुण सम्पन्न र योग्य बनाउँछन । सुन पनि सुन्दर गहना बन्नका लागि चर्को आगोमा खारिनु पर्छ बलियो फलामले चुटिनु पर्छ । आगोको रापले जे जल्छ त्यो कदापी सुन होइन, जो सुन हो त्यलाई आगोले के फरक पार्छ र ? बरु आगोले त सुनलाई झन शुद्ध बनाइदिन्छ । त्यस्तै मानिसलाई पनि सङ्घर्षले बर्बाद गर्ने नभै भित्रैबाट मजबुत र बलियो बनाउने गर्छ । त्यो सब चुनौती नै हो जसले मानव रुपी खुकुरीमा धार लगाउँछ र त्यसलाई शक्ति प्रदान गर्छ अनि प्रखर बनाउँछ ।
हुन त मुर्ती ढुङ्गा भित्रै हुन्छ तर एउटा सामान्य ढुङ्गा सबैले पूजा गर्ने पुज्यनीय मुर्ती तब बन्छ जब त्यसबाट अनावश्यक तत्व घन र छिनो प्रयोग गरेर निकालिन्छ । जुन ढुङ्गाले घन र छिनो खाएको हुँदैन त्यो कसरी मुर्ती बन्न सक्छ ? त्यो कसरी पुजिन लायक बन्छ ? हो, तिमीभित्र पनि एक मुर्ती छ त्यो मुर्ती तब बाहिर आउने छ जब तिमीले आफ्ना कमी कमजोरी र डर त्रासहरूलाई चुनौती र सङ्घर्षको छिनोले ताछेर फाल्नेछौ ।
