एक शिकारी थियो, हेर्दै डर लाग्दो। जनावरप्रतिको उसको क्रूरता बखान गरी साध्य थिएन। ऊ जङ्गल जान्थ्यो, आफ्नो धनुष तन्काएर जनावरहरूलाई तड्पाई–तड्पाई मार्नु र त्यसबाट आनन्द लिनु नै उसको दैनिकी जस्तै थियो।
एक दिन फेरि ऊ शिकार खेल्न जङ्गल जान लाग्यो। उसको प्यारो छोरा पनि उसको पछि–पछि लाग्यो। “ठिकै छ, छोराले पनि देखोस्, सिकाओस्, शिकार खेल्ने तरिका,” भनेर उसले सोच्यो। उनीहरू जङ्गल पुगे। त्यो शिकारी निसाना लगाउनमा यति निपूर्ण थियो कि उसले ताकेको जनावर उसको नजरबाट उम्कनै पाउँदैनथ्यो। जङ्गल सुन्दर थियो—फूलहरू फूलेका थिए, झरनाबाट कलकल बगेको पानीको सङ्गीतले छुट्टै रौनक थपेको थियो। तर त्यो शिकारीलाई प्रकृतिको सुन्दरताप्रति कुनै चासो थिएन। उसलाई त कहिले निर्दोष जनावरको हत्या गरूँ भन्ने मात्र ध्यान थियो।
ऊ पारी पाखामा एउटा मृगको बच्चा देखियो। दिनभरि कुनै शिकार नभेटिएको झोकमा शिकारीले त्यही बच्चातर्फ आफ्नो तीर सोझ्यायो। हरियो घाँसमा उफ्रिँदै, ब्रुकुसी मार्दै गरेको त्यो मृगको बच्चा तत्कालै बाण लागेर भुइँमा लड्यो। उसको पेटबाट भुलभुली रगत बग्न थाल्यो।
आफ्नो सन्तानको पीडाको क्रन्दन सुनेर अलि टाढा आराम गरिरहेकी आमा मृग त्यहाँ आइपुगी। आमा न हो—उसले मृत्युको चित्कार चिच्याइरहेको आफ्नो बच्चाको घाउ चाटेर पीडा कम गर्ने असफल प्रयास गरिरही। ऊ रोई, चिच्याई, तर व्यर्थ—आखिर के नै गर्न सक्थी र ऊ? बिचारीलाई के थाहा, आफ्नो सन्तानलाई हानिएको बाण अब आफू तिर पनि ताकिँदैछ भन्ने।
शिकारीले खुसी हुँदै आमा मृगतर्फ आफ्नो निशाना साध्यो। एक, दुई, तीन—झ्वाट्ट! तीर अब आमालाई लाग्यो। आमा पनि भुइँमा छट्पटाउन लागी।
तर पनि शिकारीको चित्त बुझेन। “छोरासँग आएको छु, कम्तीमा तीन वटा शिकार नगरी के घर फर्किनु?” उसले सोच्यो। त्यहीँ नजिकै घाँसतिर खस्र्याक–खुस्रुक आवाज आयो। उसले हेर्दै नहेरी अँध्यारो झ्याङमा पनि तीर हान्यो।
झ्याङबाट अनौठो आवाज आयो। त्यो आवाज मृगको जस्तो थिएन, कुनै अन्य जनावरको जस्तो पनि थिएन। त्यो आवाज मान्छेको जस्तो थियो—क्रन्दन र रुवाइ मान्छेकै जस्तो थियो।
ऊ उत्सुकतापूर्वक झ्याङभित्र पस्यो। अफसोच! उसकै प्यारो छोरा बाण लागेर भुइँमा अन्तिम श्वास तान्दै थियो।
शिकारी थचक्क घुँडामा भुइँमा टेक्यो। निधारबाट चिटचिट पसिना छुट्न थाल्यो। उसका अगाडि आफ्नो सन्तान मर्दा घाउ चाट्दै गरेकी मृगिणीको तस्बिर नाच्न थाल्यो।
त्यसै बेला नजिकैबाट आवाज आयो—
“मूर्ख शिकारी! शायद आज बल्ल थाहा भयो होला, एक सन्तान गुमाउँदाको पीडा कस्तो हुँदो रहेछ भन्ने। जनावरको पनि तिम्रो जस्तै मन हुन्छ। उनीहरूले पनि आफ्नो परिवारलाई तिमीले जस्तै माया गर्छन्। जनावरको पनि तिम्रो जस्तै प्रकृतिमा बाँच्न पाउने अधिकार छ।”
उसले आवाजतर्फ अनुहार फर्कायो। आवाज आएको दिशाबाट एक नरभक्षी बाघ ऊतर्फ दौडिँदै आएको थियो। तर यतिञ्जेल शिकारीलाई भागेर ज्यान जोगाउन निकै ढिला भइसकेको थियो।
अन्त्यमा, शिकारीको जीवन पनि त्यसरी नै समाप्त भयो, जसरी उसले सयौँ निर्दोष प्राणीहरूको आफ्नो स्वार्थका लागि हत्या गरेको थियो।
Gautama Buddha ले भनेका छन्—
“जुन व्यवहार अरूले तिमीसँग गर्दा मन पर्दैन, त्यो व्यवहार तिमीले पनि अरूसँग नगर।”
त्यस्तै Bible मा भनिएको छ—
“Love your neighbour as yourself” अर्थात्, तिमीले आफूलाई जति माया र सम्मान गर्छौ, त्यति नै माया र सम्मान अरूलाई पनि गर।
अरूबाट माया र सम्मानको आशा गर्छौ भने, पहिले त्यही कुरा अरूलाई देऊ। किनकि तिमीले जे रोप्छौ, त्यसैको फल टिप्नेछौ।
